काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाबाट ठूलो परिमाणमा अवैध लागू औषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल र अन्य सुरक्षा निकायको संयुक्त टोलीले डाक्नेश्वरी नगरपालिका–६, कटैया गाउँस्थित एक घरबाट ५६ बोरा गाँजा बरामद गरेको हो।
विशेष सूचनाका आधारमा खटिएको सुरक्षा निकायको संयुक्त टोलीले असोज ३ गते स्थानीय व्यक्तिको घरमा कानुनी रीत पुर्याई खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखिएको अवस्थामा अन्दाजी १,४०० किलोग्राम (५६ बोरा) गाँजा फेला पारेको थियो।
गाँजा बरामद भएपछि प्रहरीले सम्बन्धित घरधनीलाई नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरी बलले जनाएको छ ।






