काठमाडौँ । प्रलोभनमा पारेर नेपाली महिला तथा युवतीलाई भारत पुर्याई शोषण गर्ने गरेको विषय सार्वजनिक भएपछि सरकारले त्यसबारे छानबिन थालेको छ ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक भएका विवरणलाई गम्भीरतापूर्वक लिँदै गृह मन्त्रालयसँग समन्वय गरी सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको जनाएको हो ।
मन्त्रालयले असोज ४ गते जारी गरेको विज्ञप्तिमार्फत सञ्चारमाध्यममा प्रकाशित खोजमूलक सामग्रीलाई प्रारम्भिक सूचनाका रूपमा ग्रहण गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ ।
सार्वजनिक विवरणमा नेपाली महिला तथा युवतीलाई रोजगारी, विवाह, अध्ययन वा अन्य अवसरको प्रलोभन देखाएर बिचौलियामार्फत भारत लैजाने र त्यहाँ शोषणमा पार्ने गरेको विषय उठाइएको थियो । मन्त्रालयले ती घटनामा संलग्न व्यक्ति वा सञ्जालको पहिचान तथा संलग्नता पुष्टि भए प्रचलित कानूनअनुसार कारबाही गर्ने जनाएको छ ।
व्यक्ति र सञ्जालदेखि सीमा नाकासम्म अनुसन्धान
मन्त्रालयका अनुसार छानबिनका क्रममा घटनासँग सम्बन्धित व्यक्ति, बिचौलिया, संस्था, सीमा नाका, यात्राका माध्यम र सम्भावित आपराधिक सञ्जालका विषयमा अनुसन्धान गरिनेछ ।
सम्भावित पीडितको पहिचान तथा संरक्षण, आवश्यक प्रमाण संकलन र आरोपित व्यक्तिको अनुसन्धानका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
यद्यपि, हालसम्म अनुसन्धानको दायरामा परेका व्यक्तिको नाम, पीडितको संख्या वा कसैलाई पक्राउ गरिएको विषय मन्त्रालयले सार्वजनिक गरेको छैन ।
मन्त्रालयले नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी महिला, युवती तथा बालबालिकालाई विभिन्न प्रलोभनमा सीमापार लैजाने र शोषण गर्ने कार्यमा संलग्नता पुष्टि भए कानुनी कारबाहीबाट कसैले उन्मुक्ति नपाउने स्पष्ट पारेको छ ।
मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ ले यस्ता गतिविधिलाई गम्भीर कसुरका रूपमा परिभाषित गरेको उल्लेख गर्दै मन्त्रालयले कानुनी कारबाहीसँगै पीडितको उद्धार, संरक्षण, सुरक्षित घरफिर्ती र पुनर्स्थापनालाई प्राथमिकतामा राखिने जनाएको छ ।
सामाजिक सञ्जालका आकर्षक प्रस्तावमा सतर्क रहन आग्रह
मन्त्रालयले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट आउने अस्वाभाविक रोजगारी, उच्च आम्दानी, विदेश यात्रा, विवाह, मोडलिङ तथा मनोरञ्जनसम्बन्धी आकर्षक प्रस्तावप्रति विशेष सतर्क रहन नागरिकलाई आग्रह गरेको छ ।
वैदेशिक रोजगारी, अध्ययन वा यात्राका लागि अघि बढ्नुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता यकिन गर्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
त्यसैगरी राहदानी, नागरिकता, बैंकिङ विवरण तथा अन्य व्यक्तिगत कागजात अपरिचित व्यक्ति वा बिचौलियालाई सहजै उपलब्ध नगराउन पनि मन्त्रालयले सचेत गराएको छ ।
मानव बेचबिखन, जबर्जस्ती वा प्रलोभनमा सीमापार लैजाने प्रयास तथा शोषणसम्बन्धी सूचना तत्काल सम्बन्धित निकायमा उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ । यस्तो सूचना नजिकको प्रहरी कार्यालय, सम्बन्धित सरकारी निकाय वा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा दिन सकिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा अनुसन्धान तथा कानुनी कारबाहीसँगै पीडितको अधिकार, सुरक्षा र पुनर्स्थापनालाई समेत सरकारले प्राथमिकतामा राखेको उल्लेख छ ।






