काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र मौलाएको अनुशासनहीनता र आन्तरिक गुटबन्दीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सोमवारबाट ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्तरिक मतभेदलाई कमिटीमा छलफल गर्नुको साटो सामाजिक सञ्जाल र मिडियामा छताछुल्ल पार्ने कार्य ’अराजकता’ भएको भन्दै यस्तो प्रवृत्ति तत्काल रोक्न निर्देशन दिएका हुन्।
ओलीले देश अत्यन्तै जटिल मोडमा रहेको र लोकतन्त्र, संविधान तथा राष्ट्रियतामाथि हमला भइरहेको दाबी गरे । उनले यस्तो प्रतिकूल समयमा पार्टी पङ्क्ति एक ढिक्का भएर उभिनुपर्नेमा जोड दिँदै अनुशासनलाई पार्टीको मुख्य हतियार बनाउनुपर्ने बताए । आफ्नो स्वास्थ्य समस्या र कार्यदलको रिपोर्ट तयार गर्न लागेको समयका कारण बैठकमा केही ढिलाइ भएको स्वीकार गर्दै अध्यक्ष ओलीले भदौ १० गतेको बाढी पहिरापछिको उद्धार र राहतमा एमालेले खेलेको भूमिकाको प्रशंसा गरे । सो अवसरमा उनले बाढी पहिराको नाममा सरकारले अफवाह फैलाएको र राहत वितरणमा असक्षमता देखाएको आरोप लगाए।
अध्यक्ष ओलीले भने, ‘यतिखेर पार्टीभित्र एकजुट भएर चुनौतीको सामना गर्नुपर्ने बेला हो । पार्टीभित्रका असहमति र बहसलाई कमिटी तथा आन्तरिक बैठकमै खुला रूपमा राखिनुपर्छ । तर सार्वजनिक रूपमा नेतृत्वविरुद्ध अभिव्यक्ति दिने, पार्टीको प्रतिष्ठामा असर पार्ने र आन्तरिक विषयलाई सामाजिक सञ्जालमार्फत विवादित बनाउने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँछ । सामाजिक सञ्जालमा संकेतपूर्ण वा विवाद सिर्जना गर्ने अभिव्यक्ति दिने तथा त्यसलाई थप उत्तेजित बनाउने गतिविधिप्रति पनि सबै सचेत हुन आवश्यक छ । पार्टीमा खुला र बहुआयामिक छलफल हुनुपर्छ, तर त्यो विधि, पद्धति र अनुशासनभित्र हुनुपर्छ । पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा एकताबद्ध, अनुशासित तथा गतिशील बनाउँदै वर्तमान चुनौतीको सामना गर्न सक्ने सुदृढ संगठनका रूपमा अघि बढाउनुपर्छ ।’
पार्टीभित्रका केही नेताहरूको आलोचनाप्रति लक्षित गर्दै अध्यक्ष ओलीले पार्टी महाधिवेशनले गरेका निर्णयहरू नमान्ने र बाहिर गएर अध्यक्ष हटाउनुपर्छ भन्दै हिँड्ने छुट कसैलाई नभएको बताए ।






