काठमाडौँ । शतप्रतिशत दृष्टिविहीन अवस्थामा अन्नपूर्ण बेस क्याम्प (एबीसी) पदयात्रा पूरा गरेकी मार्गालिट सचारसँग पर्यटन बोर्डले अनुभव आदानप्रदानका लागि संवाद कार्यक्रम आयोजना गर्ने भएको छ।
बोर्डका अनुसार ‘टक सेसन’ नाम दिइएको कार्यक्रम बुधबार, सेप्टेम्बर २३ मा दिउँसो २ बजे काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा हुनेछ।
कार्यक्रममा सचारले दृष्टिविहीन व्यक्तिका रूपमा अन्नपूर्ण बेस क्याम्पसम्मको पदयात्रा पूरा गर्दाको अनुभव, चुनौती तथा यात्राका क्रममा भोगेका उल्लेखनीय पक्षबारे आफ्ना अनुभव सुनाउनेछिन्।
पर्यटन बोर्डले उक्त कार्यक्रममार्फत नेपालको पदयात्रा पर्यटनका विविध पक्षसँगै शारीरिक चुनौतीका बाबजुद साहसिक यात्रा पूरा गर्न सकिने अनुभवलाई सार्वजनिक संवादमा ल्याउन लागेको जनाएको छ।
सचारको एबीसी पदयात्राको अनुभव सुन्न तथा संवादमा सहभागी हुन इच्छुकलाई बोर्डले कार्यक्रममा आमन्त्रण गरेको छ।






