नुवाकोट । भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट आएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रभावितको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताएका छन् ।
धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारसम्म बाढीबाट भएको क्षतिको स्थलगत अवलोकनपछि उनले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्नेभन्दा पनि सुरक्षित भूगोल पहिचान गरी प्रभावितलाई व्यवस्थित रूपमा पुन:स्थापना गर्न सरकारको ध्यान जानुपर्ने बताए ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजकसमेत रहेका नेपालले जलवायु तथा मौसम परिवर्तनका कारण विपद्का घटना बढ्दै गइरहेकाले आगामी दिनमा अझ ठूलो विपद् आउन सक्ने भन्दै पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।
उनले भने, “बाढीले क्षति पुर्याएका क्षेत्रलाई जोखिमयुक्त भूगोलका रूपमा पहिचान गरी सार्वजनिक प्रयोजनमा कायम राख्नुपर्छ र प्रभावितलाई सुरक्षित स्थानमा व्यवस्थित नयाँ बस्ती निर्माण गरी पुन:स्थापना गर्नुपर्छ ।”
बाढीबाट क्षतिग्रस्त क्षेत्रको अवलोकनपछि पूर्व प्रधानमन्त्री नेपाल विदुर नगरपालिकाको कार्यालयमा आयोजित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीचको अन्तरक्रियामा सहभागी छन् ।
सो अवसरमा उनले बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार, राहत तथा प्रभावितको व्यवस्थापनबारे जानकारी लिएका थिए । उनले विपद्पछि खोज, उद्धार तथा प्रभावितको व्यवस्थापनमा स्थानीय तहसहित विभिन्न निकायबाट भएका प्रयासको प्रशंसा गर्दै आगामी दिनमा प्रभावितलाई छिटो र सहज रूपमा अस्थायी तथा स्थायी आवासको व्यवस्था गर्न सुझाव दिए ।






