काठमाडौँ। असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि गृह मन्त्रालयले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले जोखिमयुक्त सडकमा यात्रा गर्नुअघि सडक र यातायात सेवाको अवस्था बुझ्न तथा सम्भव भएसम्म अनावश्यक यात्रा नगर्न भनेको छ।
बिहीबार जारी अनुरोधमा जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिन, बाढी पूर्वानुमान बुलेटिन र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उच्च सतर्कतासम्बन्धी सूचनाको पालना गर्न भनिएको छ।
मन्त्रालयले जोखिमको सूचना पूर्वतयारी, पूर्वसतर्कता र सचेतनाका लागि समुदायसम्म समयमै पुर्याउन आग्रह गरेको छ। उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे विपद् आउनुअघि नै सुरक्षित स्थानमा सार्न सहयोग गर्न पनि भनेको छ।
हिमाली क्षेत्रमा भारी हिमपात र मौसम प्रतिकूल हुन सक्ने भएकाले पदयात्रा तथा हिमाल आरोहणमा नजान मन्त्रालयले अनुरोध गरेको छ। पदयात्रा वा उच्च हिमाली क्षेत्रमा रहेका पर्यटक र पदयात्रीलाई तत्काल सुरक्षित स्थानमा फर्किन भनिएको छ।
बालबालिका, वृद्धवृद्धा, गर्भवती र अपांगता भएका व्यक्तिलाई पूर्वतयारीका साथ सुरक्षित राख्न स्थानीय प्रशासन र स्थानीय तहसँग सहकार्य गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ। मौसम तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरीका लागि १००, सशस्त्र प्रहरी बलका लागि १११४ र विपद्को आपत्कालीन हटलाइनमा १२३४ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।







