काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै बंगालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको छ। यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी १२ घण्टामा उत्तर–उत्तर पश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको छ।
हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा साथै मधेस प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।






