काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा आयोजित इन्द्रजात्रा अवलोकन गरेका छन्। उनी जुद्ध सालिकदेखि पैदल गद्दी बैठकसम्म पुगेका थिए। त्यहाँ राष्ट्रपति पौडेल र उनकी पत्नीलाई काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वागत गरिन्।
जात्रा अवलोकनका लागि उपराष्ट्रपति, सभामुख, कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङलगायत विशिष्ट अतिथि तथा विदेशी पाहुना पनि वसन्तपुर पुगेका थिए। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्कमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन्।
इन्द्रजात्रामा राष्ट्रपतिले गद्दी बैठकबाट जीवित देवी कुमारी तथा गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ। काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको यस जात्रामा हनुमानढोका दरबार क्षेत्र केन्द्रित विभिन्न धार्मिक र सांस्कृतिक गतिविधि आयोजना गरिन्छ।






