कर्णाली । अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडा गाउँको रावलवाडा भन्ने स्थानमा त्रिपालको गोठमा सुतिरहेका अवस्थामा माथिबाट खसेको ढुंगा लागेर करिब ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए । राति करिब ९:४५ बजे ढुंगा लागेर घाइते भएका उनलाई लिखु स्वास्थ्य चौकीमा उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको उनले बताए।
प्रहरी निरीक्षक रावलका अनुसार सोही स्थानमा ढुंगा लागेर ३८ वर्षीय चन्द्ररूप केसी सामान्य घाइते भएका छन् । ढाडमा चोट लागेका उनी सामान्य उपचारपछि घर फर्केका छन् । घटनास्थल डोल्पा सदरमुकाम दुनैबाट चार घण्टा टाढा भएकाले मनरूपको मृत्युको खबर आज बिहान मात्रै थाहा भएको जनाउँदै उनले चन्द्ररूपलाई प्रहरीले उद्धार गरिसकेको बताए ।






