काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई गए राति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएको घटनाप्रति नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गम्भीर आपत्ति जनाएका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई बिना कुनै प्रमाण मध्यराति नियन्त्रणमा लिएको भन्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन्।
यस्तो पक्राउ प्रचलित कानुन, संविधान र विधिको शासनको मर्मविपरीत भएको पोखरेलको दाबी छ। सरकारको स्वेच्छाचारी र गलत कदमले तानाशाही प्रवृत्तिलाई बढावा दिने भन्दै उनले यस्ता गैर कानुनी कार्यविरुद्ध खबरदारी गर्न सबैलाई आग्रह गरेका छन्।
‘बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लंघन हो । यो हाम्रो संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्म विपरीतको काम हो ।’ उनले भने ‘यस्तो गैर कानुनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु भनेको प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो। तसर्थ सबैले गलत कामको खबरदारी गरौँ ।’






