काठमाडौँ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) ले सामाजिक सञ्जालमा फैलिएको परीक्षा स्थगित भएको भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संस्थानका अनुसार विभिन्न सामाजिक सञ्जालमा नक्कली सूचना तयार गरी पूर्वनिर्धारित परीक्षा स्थगित भएको भन्दै गलत सूचना सम्प्रेषण भइरहेको छ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय कीर्तिपुरले शुक्रबार सूचना जारी गर्दै संस्थानबाट यसअघि प्रकाशित तालिकाअनुसार तय भएका कुनै पनि परीक्षा स्थगित नगरिएको स्पष्ट पारेको हो।
संस्थानले पूर्वसूचनाअनुसार नै सबै परीक्षा निर्धारित समयमा सञ्चालन हुने जनाएको छ। परीक्षासम्बन्धी भ्रममा नपर्न र आधिकारिक सूचनालाई मात्र आधार मान्न संस्थानले सम्बन्धित विद्यार्थी तथा सरोकारवालालाई आग्रह गरेको छ।
परीक्षासम्बन्धी आधिकारिक जानकारीका लागि संस्थानको वेबसाइट हेर्नसमेत अनुरोध गरिएको छ। संस्थानले सामाजिक सञ्जालमा प्रसारित अनधिकृत सूचनाको पछि नलाग्न र आधिकारिक माध्यमबाट प्राप्त सूचनालाई मात्र विश्वसनीय मान्न आग्रह गरेको हो।
संस्थानका सहायक डीन डा. कोमलराज रिजालद्वारा जारी सूचनामा २०८३ असोज १० गतेको मिति उल्लेख छ।







