काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएका जबरालाई आइतबार परिवारको जिम्मा लगाइएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रामेश्वर कार्कीले जबरालाई परिवारको जिम्मा लगाएर छाडिएको जानकारी दिएका छन्। यसअघि प्रहरीले उनलाई महाराजगञ्जस्थित निवासबाट राति करिब ३ बजे कार्यालयमा ल्याएको थियो।
प्रहरीले उनलाई सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा राख्न कार्यालय ल्याइएको स्पष्टीकरण दिएको थियो। तर, सुरक्षा चुनौतीको प्रकृति भने प्रहरीले सार्वजनिक गरेको छैन।
मानव अधिकार आयोगको टोलीले भेट्न पाएन
जबरालाई भेट्न मानव अधिकार आयोगको टोलीसमेत अपराध अनुसन्धान कार्यालय पुगेको थियो। तर, प्रहरीले आयोगको टोलीलाई जबरासँग भेट गर्न नदिएको जनाइएको छ।
कार्यालयको प्रवेशद्वारमा करिब ४५ मिनेट प्रतीक्षा गरेपछि आयोगको टोली भेट नगरी फर्किएको बताइएको छ।
यस घटनाप्रति राजनीतिक दल तथा नागरिक तहबाट समेत प्रश्न उठिरहेका बेला जबरालाई परिवारको जिम्मा लगाएर छाडिएको हो।
जबरालाई नियन्त्रणमा लिनुपर्ने कारणबारे सरकारबाट औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक भएको छैन। प्रहरीले भने सुरक्षा चुनौतीलाई कारणका रूपमा प्रस्तुत गर्दै आएको छ।






