काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिम पहिरो जाँदा एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिम पहिरो गएको क्षेत्रमा कति जना थिए भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन। प्रारम्भिक जानकारी अनुसार १२ देखि १३ जना व्यक्ति त्यहाँ रहेको र उनीहरू सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन भनिएका सबै नेपाली नागरिक रहेको प्रारम्भिक जानकारी आए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको पौडेलले बताए।
सम्भावित जोखिममा परेकाहरूको खोज तथा उद्धारका लागि काठमाडौँबाट हेलिकप्टरमार्फत टोली मनाङ पुगेको छ। उद्धार टोलीका चार सदस्यलाई हिम पहिरो गएको स्थानमा प्रारम्भिक खोज तथा उद्धारका लागि छाडिएको र थप उद्धारका लागि हेलिकप्टर पुनः पठाउने तयारी भइरहेको जनाइएको छ।
हिम पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अहिलेसम्म प्राप्त हुन सकेको छैन। घटनास्थलको अवस्थाबारे थप जानकारी संकलन तथा उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ।






