काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा सांसद पद्माकुमारी अर्यालले असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाले मुलुकभर निम्त्याएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल उद्धार र राहत कार्यलाई युद्ध स्तरमा अघि बढाउन माग गरेकी छन् ।
सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले विपद्को यथार्थ विवरण सार्वजनिक गर्दै पीडितको सुरक्षित पुन:स्थापनाका लागि राष्ट्रिय गुरुयोजना आवश्यक रहेकोमा जोड दिएकी हुन् । सांसद अर्यालले विशेषगरी कालीगण्डकी तटीय क्षेत्रमा बाढी र पहिरोले पुर्याएको क्षतिको विवरण प्रस्तुत गरिन् । प्रारम्भिक रिपोर्टअनुसार देशभर बाढी–पहिरोमा परी १३ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र ४ जना घाइते भएका छन् । ४२९ घरधुरीका १५ सय नागरिक विस्थापित हुनुका साथै १८९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २७० घर उच्च जोखिममा छन् ।
आफ्नो जन्मथलो स्याङ्जाको सेतीवेणी क्षेत्रमा कालीगण्डकीको बाढीले पुर्याएको क्षतिको चर्चा गर्दै अर्यालले भनिन्, ‘स्याङ्जा र पर्वतको संगमस्थल सेती वेणीमा भौतिक संरचनासँगै धार्मिक र सांस्कृतिक सम्पदामा ठूलो क्षति पुगेको छ । स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बाढीले बगाउँदा जनजीवन कष्टकर बनेको छ । बाढी पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार, उपचार र खाद्यान्नको व्यवस्था गरिनुपर्छ । क्षतिग्रस्त सडक, पुल, विद्युत् र सञ्चार सेवाको तत्काल पुरस्थापना आवश्यक छ ।’
उनले तत्कालका लागि कालीगण्डकी जलविद्युत आयोजनाको बाँध हुँदै हर्मीचौरतर्फको सुरुङमार्ग प्रयोगको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । विपद् व्यवस्थापनका लागि सरकारले अपनाउनुपर्ने कार्ययोजनाबारे उनले पाँच बुँदे ध्यानाकर्षण गराइन् । साथै, उनले जोखिमयुक्त क्षेत्रका बस्तीहरूको दीर्घकालीन व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय गरी राष्ट्रिय गुरुयोजना निर्माण गर्न जोड दिइन् । सांसद अर्यालले विपद्को पूर्वानुमान र व्यवस्थापनमा देखिएका कानुनी अड्चन फुकाउन तत्काल आवश्यक कानुन निर्माण गर्नसमेत संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन् ।






