काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले लगातारको वर्षा र बाढी पहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म सहज रूपमा सुचारु हुने जनाएको छ ।
सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले यस्तो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढी प्रभावित जिल्लाहरूमा मंगलवारसम्म विद्युत् आपूर्ति सहज भइसक्ने बताए ।
उनले लगातारको वर्षा र वर्षापछिको बाढी र पहिरोको कारण देशभर आइतबार करिब १ हजार मेगावाट विद्युत प्रणालीबाट बाहिरिएको भए पनि अधिकांश क्षेत्रमा पुनः प्रणालीमा जोडिएको बताए । उनका अनुसार बाढीका कारण म्याग्दी, बागलुङ, मुस्ताङ, तनहुँ, रुकुम पूर्व र प्युठानलगायतका जिल्लामा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको थियो । जसमध्ये म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा विद्युत सुचारु भइसकेको उहाँले जानकारी दिए । त्यसबाहेक मुस्ताङ, प्युठान र डोल्पामा सोमवार साँझसम्म र देशभर मंगलवारसम्म विद्युत जडान भइसक्ने उनले बताए ।
उनले प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्धित ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको बाँध र टेलरेस गेटमा क्षति पुगेको बताए । उक्त आयोजना सञ्चालनमा ल्याउन अझै १० दिन लाग्ने उनको भनाइ छ । उनकाअनुसार प्रसारणतर्फ कालीगण्डकी करिडोरको २ सय २० केभी लाइन अन्तर्गत म्याग्दीको दाना-कुश्मा खण्डको टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ ।
लाइनमा क्षति पुगेका कारण त्यस क्षेत्रका १ यि ९० मेगावाट क्षमताका ७ वटा जलविद्युत् केन्द्रहरूले विद्युत प्रवाह हुन नसकेको उनले बताए । अझै ८ वटा आयोजनाको २ सय ३० मेगावाट विद्युत प्रणालीभन्दा बाहिर रहेको समेत कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
उनले भने, ‘गत शुक्रवारदेखिको वर्षाको कारण राहुघाटको ट्रेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टर्बाइन फ्लोरमा पनि पानी पसेको हुँदा सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने छ । कुस्मा-दाना प्रसारण लाइनमा क्षति पुगेका कारण विद्युत् प्रसारण हुन नसकेका कुल सात वटा जलविद्युत केन्द्रहरूको कुल क्षमता १ सय ९० मेगावाट रहेको छ । राहुघाट सवस्टेशनमा कनेक्सन भएका र बाढीका कारण अवरुद्ध भएका प्राधिकरणको सहायक कम्पनी राहुघाट जलविद्युत केन्द्र ४० मेगावाट बाहेक १ सय २७ मेगावाटको उत्पादन सञ्चालनमा आउन सक्ने अवस्थामा पुगिसकेको छ । प्रणालीबाट बाहिर रहेको कुल विद्युत् आयोजना आठ वटा रहेकोमा तिनको कुल क्षमता २३० मेगावाट रहेको छ । सेती र मादी करिडोरमा बाढीका कारण अवरुद्ध रहेका कुल २ सय ६२ मेगावाटका जलविद्युत केन्द्रहरू सञ्चालनमा आइसकेको छ । मस्र्याङ्दी करिडोरमा बाढीका कारण अवरुद्ध भएका १९० मेगावाटका जलविद्युत केन्द्रहरू पनि सञ्चालनमा आइसकेको छ । बाढीका कारण अवरुद्ध विद्युत् प्राधिकरणको कालिगण्डकी ए १ सय ४४ मेगावाटको प्लान्ट पनि आज पिकमा सञ्चालनमा आउने जानकारी गराउन चाहन्छु । प्रसारण लाइनतर्फ कालिगण्डकी करिडोरको २ सय २० केभी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना–कुश्मा खण्डको टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । उक्त स्थानहरू लगायत अन्य स्थानको निरीक्षण गर्न विभिन्न स्थानमा बाटो अवरुद्ध भएको हुँदा विस्तृत विवरण आउन बाँकी रहेको छ । वितरण लाइनतर्फ केही दिनदेखिको वर्षाका कारण म्याग्दी, मनाङ, बागलुङ, मुस्ताङ, तनहुँ, रुकुम पूर्व र प्युठान जिल्लामा विद्युत अवरुद्ध भएको थियो । अहिलेसम्म म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा विद्युत् सुचारु भइसकेको छ । मुस्ताङ, प्युठान र रोल्पामा आज साँझसम्म विद्युत् सुचारु भइसकेको हुनेछ । त्यसो भएको हुने भोलीसम्ममा देशभर विद्युत् आपूर्ति सहज भइसकेको हुनेछ । वास्तवमा हिजो बिहानैदेखि परेको अविरल वर्षाको कारण धेरै जिल्लाहरूमा चाहिँ विद्युत् आपूर्ति बन्द भएको थियो । हाम्रो वितरण संरचनाहरू बगाएको टावरहरू लडाएको कारण एक हजार मेगावाटभन्दा बढी जलविद्युत केन्द्रहरू हाम्रो सिस्टमबाट आउट भएको कारणलाईले पनि हामीलाई दिनभरिनै हिजो असहज परिस्थितिको सिर्जना भयो ।’
उनले प्रणालीबाहिर गएर विद्युत प्रणालीमा ल्याउन प्राधिकरण क्रियाशील रहेको समेत बताएका छन्।






