काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनमा सहभागी हुन आए उद्घाटन सत्रको अध्यक्षता गराउन आफूहरू तयार रहेको बताएका छन्।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राणाले महाधिवेशन प्रक्रियामा केही नेता तथा क्रियाशील सदस्य सहभागी नभएको अवस्थालाई पार्टी विभाजनका रूपमा बुझ्न नहुने बताएका हुन्।
उनका अनुसार पार्टीभित्र असन्तुष्ट पक्षले उठाएका माग सम्बोधनका लागि नेतृत्वले पर्याप्त लचकता अपनाएको छ। नेता शेखर कोइरालाले अघि सारेका सात बुँदे तथा निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले राखेका पाँचबुँदे माग सम्बोधन गरिएको उनको दाबी छ।
राणाले क्रियाशील सदस्यताको विवरण अद्यावधिक गर्ने तथा १४औँ महाधिवेशनमा कायम रहेका सदस्यलाई समायोजन गर्ने विषयमा पनि सहमति भइसकेको बताए।
‘गिभ एन्ड टेक’का आधारमा वार्ता हुने भए पनि यसपटक असन्तुष्ट पक्षका माग सम्बोधन गर्न पार्टीले अधिकतम लचकता अपनाएको उनको भनाइ थियो।
पूर्वसभापति देउवालाई महाधिवेशनमा सहभागी गराउन आफूहरू तयार रहेको बताउँदै राणाले उद्घाटन सत्रको अध्यक्षता देउवाले नै गर्न सक्ने बताए।
‘शेरबहादुर दाइ आइदिनुभयो भने त्यो अधिवेशनको उद्घाटन उहाँले नै गर्नुहुन्छ,’ राणाले भने।
तर विशेष महाधिवेशनबाट आएको नेतृत्वले आफ्नो पद छाडेर पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी हस्तान्तरण गर्न नसक्ने उनको भनाइ थियो।
‘विशेष महाधिवेशनबाट आएको नेतृत्वले सबै कुर्सी छोडेर उहाँहरूलाई फेरि स्वागत गर्दै तपाईँहरू नै कुर्सीमा बस्नुस् भन्न हामी सक्दैनौँ,’ उनले भने।
राणाले केही नेता तथा कार्यकर्ता महाधिवेशन प्रक्रियाबाट अलग रहेको भए पनि त्यसलाई पार्टी विभाजनको रूपमा व्याख्या गर्न नमिल्ने बताए। काँग्रेसभित्र अहिले पनि पार्टी एउटै रहेको उनको दाबी थियो।
काँग्रेसको १५औँ महाधिवेशनलाई लिएर पूर्वसभापति देउवा पक्ष र वर्तमान नेतृत्वबीच विवाद कायम छ। देउवाले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधानिकता नदिँदै आफ्नै पक्षबाट छुट्टै महाधिवेशनको कार्यतालिका अघि सारेका छन्।
यसैबीच राणाले सरकारको कार्यशैलीमाथि पनि टिप्पणी गरेका छन्। उनले सरकार सेवा प्रवाहमा भन्दा सामाजिक सञ्जालमा बढी केन्द्रित भएको आरोप लगाउँदै सरकारी गतिविधिमा परिपक्वताको अभाव देखिएको दाबी गरे।



