काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने निम एजुकेशन कन्सल्टेन्सी प्रा.लि.का सञ्चालक रामेछाप लिखु तामाकोसी गाउँपालिका–१ घर भएका २६ वर्षीय दीप बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
दीप बहादुरले जापान पठाइदिन्छु भन्दै १५ जना पीडितहरूबाट १ करोड १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।



