काठमाडौँ । अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो ७२ घण्टादेखि राज्यको सम्पर्कबाट लगभग विच्छेद (आइसोलेटेड) भएको छ ।
विद्युत प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर ‘ब्ल्याक आउट’ भएको छ भने बेनी-जोमसोम-कोरोला सडक खण्डका ४६ स्थानमा क्षति पुग्दा स्थानीय जनजीवन र राष्ट्रिय आपूर्ति प्रणालीसमेत प्रभावित बनेको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा मुस्ताङका नेपाली काँग्रेस सांसद योगेश गौचन थकालीले मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराए । उनले लोमानथाङ गाउँपालिकाका विभिन्न वडामा सिँचाइ प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरोभज्याङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराए ।
विशेष गरी लुक्रा गाउँमा स्थानीयहरूको घर पूर्ण र आंशिक रूपमा क्षति भएको उनले बताए ।
पूर्वाधारमा भएको क्षतिले मुस्ताङको समग्र अर्थतन्त्र र सञ्चार प्रणालीमा धक्का पुगेको छ । म्याग्दीको दानामा रहेको सब-स्टेशन र ३३ केभी प्रसारण लाइनमा क्षति पुग्दा तीन दिनदेखि मुस्ताङ अन्धकारमा छ ।
सांसद थकालीले भने, ‘सञ्चार र इन्टरनेट सुविधा नहुँदा जिल्लाको यथार्थ अवस्था बुझ्न र उद्धार कार्य गर्नसमेत राज्य संयन्त्रलाई कठिनाइ भइरहेको छ । दुर्गम सीमावर्ती क्षेत्रमा सडक, विद्युत र सञ्चारको पहुँच कायम राख्नु तथा संकटका बेला तत्काल उद्धार गर्न सक्नु नै राष्ट्रिय सुरक्षाको बलियो आधार हो । सुरक्षालाई सेना र प्रहरीमा मात्र सिमित नराखी आधारभूत पूर्वाधारको सुरक्षामा पनि राज्यले ध्यान दिनुपर्छ ।’
उनले बेनी-जोमसोम-कोरोला सडक खण्ड केवल स्थानीय सडक मात्र नभई रणनीतिक महत्वको राष्ट्रिय पूर्वाधार भएको स्मरण गराए । यो सडक अवरुद्ध हुँदा उत्तरी छिमेकी चीनसँगको व्यापारिक कनेक्टिभिटी र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ । सांसद थकालीले यस विपत्तिलाई ‘राष्ट्रिय सुरक्षा’ र ‘जलवायु सुरक्षा’को दृष्टिकोणबाट हेर्न सरकारलाई आग्रह गरे ।



