काठमाडौँ । बझाङको सुनकुडा माध्यमिक विद्यालय भवन निर्माणमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।
आयोगले तत्कालीन प्रधानाध्यापक धनबहादुर बिष्टसहितका प्रतिवादीलाई सफाइ दिने विशेष अदालत काठमाडौँको २०८३ वैशाख ८ गतेको फैसलाविरुद्ध असोज १४ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो।
बित्थडचिर गाउँपालिका-९ स्थित विद्यालयको तीनतले १२ कोठे भवन निर्माणमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा २६ लाख ५४ हजार ६ सय ८३ रुपैयाँ १२ पैसा हानिनोक्सानी भएको दाबी गर्दै आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो।
आयोगले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न व्यवस्थाबमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको थियो।
तर विशेष अदालतले आरोप पुष्टि नभएको भन्दै प्रतिवादीहरूलाई सफाइ दिएको थियो। उक्त फैसलामा चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



