काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरोकारवालाबाट प्राप्त सुझावको गहन अध्ययन र आवश्यक छलफलपछि मात्र जलवायु नीति २०८३ अघि बढाइने बताएकी छन्।
सिंहदरबारस्थित मन्त्रालयमा आज नागरिक समाज, अक्सफाम, गैरसरकारी संस्था महासंघलगायत ४० भन्दा बढी संघ-संस्थाबाट प्राप्त सुझाव तथा सल्लाह मन्त्री चौधरीसमक्ष प्रस्तुत गरिएको थियो। उनले ती सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै नीति अघि बढाउनुअघि अध्ययन र छलफल गरिने बताएकी छन्।
मन्त्री चौधरीले नीति निर्माणमा युवा सहभागिता, समावेशिता र विभिन्न क्षेत्रको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिइने उल्लेख गरेकी छन्। जलवायु नीति निर्माणमा युवाको महत्त्वपूर्ण भूमिका सुनिश्चित गरिने उनको भनाइ छ।
जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रका रूपमा नेपालले आफ्ना अनुभव, ज्ञान र प्राथमिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा पनि उनले जोड दिएकी छन्। जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने मन्त्री चौधरीले बताएकी छन्।



