काठमाडौँ । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसला विद्युतीय प्रणालीमा अपलोड गर्न सुरु गरेको छ। अदालतले शुक्रबार (असोज १६ गते) देखि मुद्दा व्यवस्थापन प्रणाली (सीएमएस) मा प्रमाणीकृत फैसला प्रविष्ट गर्ने कार्य थालेको जनाएको हो।
न्यायपालिकाका कामकारबाहीलाई क्रमशः विद्युतीय प्रणालीमा आबद्ध गर्दै सूचना प्रविधिमा आधारित न्यायपालिका निर्माण गर्ने उद्देश्यअनुसार यो कार्य सुरु गरिएको अदालतको सूचनामा उल्लेख छ।
अदालतकी शाखा अधिकृत तथा सूचना अधिकारी नम्रता गैरेद्वारा जारी सूचनामा ‘ई-जुडिसियरी’ तथा ‘ई-कोर्ट’मा रूपान्तरण गर्ने प्रक्रियाअन्तर्गत प्रमाणीकृत फैसला प्रणालीमा राख्न थालिएको जानकारी दिइएको छ।
अदालतले उक्त सेवा प्रारम्भ भएकोबारे सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराएको छ।




