काठमाडौँ । राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ ।
हवाई सेवालाई थप सुरक्षित, भरपर्दो र जिम्मेवार बनाउने उद्देश्यले ल्याइएको यो विधेयकले यात्रुको अधिकार संरक्षणका साथै दुर्घटना वा अन्य प्राविधिक समस्यामा यात्रुले पाउने क्षतिपूर्तिको कानूनी आधार तयार पारेको हो ।
शुक्रवारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।
सदनमा उपस्थित सदस्यहरूले उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा समर्थन गरेका हुन् ।
नयाँ ऐनको प्रस्तावनामा उल्लेख गरिएअनुसार, हवाई दुर्घटनामा हुने मृत्यु, अंगभंग, चोटपटक, उडानमा हुने विलम्ब वा यात्रा स्थगन हुँदा यात्रु वा तेस्रो पक्षले प्राप्त गर्ने क्षतिपूर्तिको व्यवस्थालाई स्पष्ट र व्यवस्थित बनाउने लक्ष्य लिइएको छ ।
यसअघि छरिएर रहेका वा स्पष्ट नभएका कानुनी प्रावधानहरूलाई एकीकृत गर्दै यो ऐनले वायुसेवा कम्पनीहरूलाई थप उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।



