काठमाडौँ । देशका विभिन्न प्रदेशमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ६:४५ बजेसम्मको विवरणअनुसार रसुवामा बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
गत साउन १० गतेदेखि परेको बाढीका कारण रसुवाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन्। अर्को सूचना नभएसम्मका लागि यो सडक खण्ड बन्द रहनेछ।
असोज ८ गतेदेखि परेको बाढीले बेशीसहर हुँदै खाङ्सारसम्म जाने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनाएको छ। असोज १० गते बिहान परेको पहिरोका कारण बेनि-जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका-०२ बैसरी र अन्नपूर्ण गाउँपालिका-०३ सुकेबगरमा यातायात पूर्ण रूपमा ठप्प छ।
कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटार गाउँपालिका-६ घुमाउरी घाट र बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोमा खसेको पहिरोका कारण सडक एकतर्फी मात्र सुचारु छ। उक्त सडक खण्डबाट ठुला गाडीहरू आउजाउ गर्न नसक्ने प्रहरीले जनाएको छ।




