काठमाडौँ । प्राविधिकतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिव नवीनराज सिंह, मिना श्रेष्ठ र पद्यकुमार मैनालीको नाम सिफारिस भएको छ।
लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा शुक्रबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले तीन सहसचिवको नाम योग्यताक्रमअनुसार नाम सिफारिस गरेको हो।
सिफारिसमा नवीनराज सिंह पहिलो, मिना श्रेष्ठ दोस्रो र पद्यकुमार मैनाली तेस्रो नम्बरमा छन्। अब मन्त्रिपरिषद्ले सिफारिस भएका तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ।
पहिलो नम्बरमा सिफारिस सिंह हाल लगानी बोर्डमा कार्यरत छन्। दोस्रो नम्बरमा रहेकी श्रेष्ठ र तेस्रो नम्बरमा रहेका मैनाली पूर्वाधार विकास मन्त्रालयमा कार्यरत छन्।
तीन फरक उपसमूहका सहसचिव प्रतिस्पर्धामा
सचिव बढुवाका लागि पहिलो नम्बरमा सिफारिस सिंह नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूहअन्तर्गत हाइड्रोपावर उपसमूहका सहसचिव हुन्।
दोस्रो नम्बरमा सिफारिस श्रेष्ठ सोही सेवाको स्यानिटरी उपसमूहकी हुन् भने तेस्रो नम्बरमा रहेका मैनाली बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सहसचिव हुन्।
प्राविधिकतर्फ रिक्त सचिव पदमा बढुवाका लागि फरक–फरक प्राविधिक उपसमूहका तीन सहसचिव सिफारिसमा परेका हुन्।
सिग्देलको अवकाशपछि रिक्त भएको थियो पद
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएसँगै प्राविधिक सचिवको एक पद रिक्त भएको थियो। सोही रिक्त पदपूर्तिका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको हो।
सिग्देलले करिब पाँच वर्ष सचिवको जिम्मेवारी सम्हालेर असोज १३ गते अनिवार्य अवकाश लिएका थिए। उनी २०७८ असोज १४ गते सचिवमा बढुवा भएका थिए। पछिल्लो पटक उनी पूर्वाधार विकास मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए।
अर्को प्राविधिक सचिवको पनि सिफारिस हुँदै
यसैबीच प्राविधिक सचिव सरजुकुमार वैद्यसमेत अनिवार्य अवकाशमा गएपछि प्राविधिकतर्फ अर्को सचिव पद पनि रिक्त भएको छ।
यससँगै पूर्वाधार विकास मन्त्रालय र जल तथा ऊर्जा आयोगतर्फ प्राविधिक सचिवका पद रिक्त हुन पुगेका छन्।
एउटा रिक्त पदका लागि सिंह, श्रेष्ठ र मैनालीको नाम सिफारिस भइसकेको अवस्थामा अर्को रिक्त पदपूर्तिका लागि बढुवा समितिले पुन: तीन जना सहसचिवको नाम सिफारिस गर्नुपर्नेछ।
पहिलो सिफारिसबाट मन्त्रिपरिषद्ले तीनमध्ये एक जनालाई सचिवमा बढुवा गरेपछि बाँकी रहेका सहसचिवको वरिष्ठता तथा प्रचलित कानुनी व्यवस्थाअनुसार अर्को रिक्त पदका लागि समेत बढुवा प्रक्रिया अघि बढ्नेछ।
यससँगै पूर्वाधार विकास मन्त्रालयको सचिवमा कसलाई ल्याउने भन्ने चर्चा पनि चलेको छ ।



