काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणाली (ई-जीपी) मा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावका कागजात परिवर्तन गरेको विषयमा प्राप्त निवेदनमाथि अनुसन्धान गर्दा घटनामा संलग्न देखिएका आठ जनालाई पक्राउ गरिएको हो।
ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँ जिल्ला अदालतको अनुमतिमा असोज १६ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
असोज १९ गते जारी विज्ञप्तिमा ब्युरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणका आधारमा पक्राउ गरिएको उल्लेख गरेको छ। पक्राउ परेकाहरूको नाम तथा सम्बन्धित ठेक्काको विवरण भने विज्ञप्तिमा खुलाइएको छैन।
उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।



