काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ११६.५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
ब्युरोबाट खटिएको प्रहरी टोलीले असोज १८ र १९ गते सञ्चालन गरेको विशेष खोजी अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट एक थान डिजिटल तराजु र चार थान मोबाइलसमेत बरामद गरिएको ब्युरोले जनाएको छ।
असोज १८ गते ९५.५ ग्राम खैरो हेरोइनसहित दोलखाको मेलुङ गाउँपालिका-१ का ३३ वर्षीय सुरेश उप्रेती र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-३ का २६ वर्षीय अमित बस्नेत पक्राउ परेका छन्।
त्यस्तै, असोज १९ गते २१ ग्राम खैरो हेरोइनसहित सिरहाको गोलबजार नगरपालिका-१० का २५ वर्षीय अजयकुमार महतो र सोही ठाउँका ३२ वर्षीय सत्रुधन मुखियालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार उप्रेती यसअघि प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त सातदोबाटोबाट लागुऔषध मुद्दामा पक्राउ परेको अभिलेख छ। मुखिया पनि यसअघि जिल्ला प्रहरी कार्यालय सिरहाबाट सोही प्रकृतिको मुद्दामा पक्राउ परेको ब्युरोले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको ब्युरोका सह प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



