काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन स्वीकृत भएका ११ उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असोज २५ र २६ गते हुने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउँदै उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि दुईदिने कार्यतालिका सार्वजनिक गरेको हो।
मन्त्रालयले चलचित्र विकास बोर्ड अध्यक्षका उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम निर्धारण गरिएको आधिकारिक सूचना असोज २० गते सार्वजनिक गरेको छ।
प्रस्तुतीकरण तथा अन्तर्वार्ता मन्त्रालयको सिंहदरबारस्थित सभाहलमा हुनेछ।
मन्त्रालयको सूचनाअनुसार असोज २५ गते आइतबार समूह ‘क’ अन्तर्गत अमर दीप सापकोटा, जयन्ती थापा, नवीन पहारी र डम्बरबहादुर बुढाथोकीको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ। उनीहरूका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ।
सोही दिन समूह ‘ख’ अन्तर्गत दीपा पाण्डे, रमेश कुमार के.सी. र नरेश कुमार पौड्यालको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ। उनीहरूको कार्यक्रम दिउँसो १:३० बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको छ।
त्यसैगरी असोज २६ गते सोमबार समूह ‘ग’ अन्तर्गत निशा अधिकारी, भगवती कुमारी (मैनाली) उप्रेती, मनिष पण्डित र सुशान्त कोइरालाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ। उनीहरूका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म समय तोकिएको छ।
३० मिनेटअघि उपस्थित हुनुपर्ने
मन्त्रालयले उम्मेदवारलाई निर्धारित समयभन्दा ३० मिनेटअघि नै उपस्थित हुन निर्देशन दिएको छ। उम्मेदवारले व्यावसायिक कार्ययोजनाको सफ्टकपीका साथै आवेदनका क्रममा पेस गरेका सम्पूर्ण कागजातको सक्कल प्रतिलिपि लिएर उपस्थित हुनुपर्नेछ।
प्रत्येक उम्मेदवारलाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न १५ मिनेट समय दिइनेछ। त्यसपछि अन्तर्वार्ताका लागि थप १५ मिनेट छुट्याइएको छ।
चलचित्र क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि सरकारले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐनअन्तर्गत चलचित्र विकास बोर्ड गठन गरेको हो। बोर्ड सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको निकाय हो।
प्रस्तुतीकरण र अन्तर्वार्ता अध्यक्ष नियुक्तिका लागि उम्मेदवार मूल्यांकन प्रक्रियाको चरणका रूपमा सञ्चालन हुन लागेको हो।




