काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको र सोही प्रमाणपत्रका आधारमा पटक पटक बढुवा भएको आरोपमा स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमन प्रसाद तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार तिवारीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।
आयोगका अनुसार स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृतसमेत रहेका तिवारीले खोप सुपरभाइजरको राजपत्र अनङ्कित प्रथम श्रेणीको पद प्राप्त गर्न भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट देखिएको छ।
सोही प्रमाणपत्रका आधारमा नियुक्ति लिएका तिवारीले माथिल्लो तहका विभिन्न पद र श्रेणीमा बढुवा हुनसमेत पटक पटक उक्त प्रमाणपत्र पेस गरेको आयोगले जनाएको छ।
आयोगको अनुसन्धानअनुसार तिवारीले नक्कली प्रमाणपत्र प्रयोग गरी बढुवा हुनुका साथै राष्ट्रसेवकको पद, ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेका थिए।
सुमन कुमार तिवारी र सुमन तिवारीका नामबाट समेत चिनिने सुमन प्रसाद तिवारीविरुद्ध आयोगले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा आरोप पत्र दायर गरेको हो।
आयोगले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय मागदाबी गरेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले असोज २३ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत तिवारीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरिएको जानकारी दिएका हुन्।



