काठमाडौँ । सार्वजनिक सम्पत्ति हिनामिना तथा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा बाराको पचरौता नगरपालिका-६ का वडाध्यक्ष मकबुल मियाँ अंसारीसहितका प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
विशेष अदालतले २०८३ वैशाख ७ गते प्रतिवादीहरूलाई सफाइ दिने फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझेपछि आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो।
आयोगले वडाध्यक्ष अंसारीसहितका प्रतिवादीविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना तथा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा ४ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफाले निर्देश गरेअनुसार ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) तथा संशोधनसहितको ऐनको सोही उपदफाको खण्ड (ग) बमोजिम कैद र जरिवानाको सजाय मागदाबी गरेको थियो।
त्यस्तै, ऐनको दफा १७ बमोजिम कायम गरिएको बिगो असुलउपर गर्नसमेत आयोगले माग गरेको थियो।
तर, विशेष अदालतले प्रतिवादीहरूलाई सफाइ दिएपछि आयोगले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले असोज २३ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत विशेष अदालतको फैसलामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको जानकारी दिएका हुन्।



