७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहसँग भेट्न नपाएपछि प्रवासी नेपाली असन्तुष्ट, आधार कार्डदेखि मताधिकारसम्मका समस्या उठाए

भारत भ्रमणका क्रममा आफ्ना माग राख्ने अवसर नदिइएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गुनासो, पहिचान पत्र, नागरिकता, शिक्षा, स्वास्थ्य र सुरक्षासम्बन्धी समस्या समाधानका लागि कूटनीतिक पहल गर्न आग्रह।

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा प्रवासी नेपालीका प्रतिनिधिसँग भेटघाटको व्यवस्था नगरिएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले असन्तुष्टि जनाएको छ। समाजले भारतमा रहेका नेपालीले भोगिरहेका पहिचान, रोजगारी, शिक्षा, स्वास्थ्य र नागरिकतासम्बन्धी समस्या प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष राख्न नपाएको गुनासो गरेको हो।

समाजका पूर्वअध्यक्ष ठाकुर खनालले यसअघिका प्रधानमन्त्री तथा उच्च राजनीतिक नेतृत्वको भारत भ्रमणमा नेपाली दूतावासले प्रवासी नेपालीका प्रतिनिधिसँग भेटघाटको प्रबन्ध गर्ने गरेको भए पनि यसपटक त्यस्तो अवसर उपलब्ध नभएको बताए।

उनका अनुसार प्रधानमन्त्रीसँग भेट्ने विषयमा दूतावाससँग पटक पटक सम्पर्क गरिएको थियो। तर, प्रधानमन्त्रीले प्रवासी नेपालीसँग भेटघाट तथा भोजभतेरको कार्यक्रम आवश्यक नरहेको भन्ने जानकारी दूतावासबाट प्राप्त भएको खनालको भनाइ छ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर समस्या सुनाउने प्रयास सफल नभएपछि सञ्चारमाध्यममार्फत सरकारको ध्यानाकर्षण गराउनुपरेको उनले बताए।

आधार कार्डको समस्या समाधान गर्न कूटनीतिक पहलको माग
समाजले भारतमा बसोबास गर्ने नेपालीका लागि आधार कार्ड प्राप्त गर्ने प्रक्रिया सहज बनाउन नेपाल सरकारले भारतीय पक्षसँग पहल गर्नुपर्ने माग गरेको छ।

पूर्वअध्यक्ष खनालका अनुसार आधार कार्डको अभावमा नेपालीले बैंक खाता सञ्चालन, सवारी चालक अनुमति पत्र प्राप्ति, बालबालिकाको विद्यालय भर्ना, मोबाइल सिमकार्ड खरिद तथा सरकारी अस्पतालमा उपचारजस्ता दैनिक आवश्यकताका काममा कठिनाइ भोगिरहेका छन्।

भारतको आधार कार्डसम्बन्धी व्यवस्थाअनुसार १८२ दिन बसोबास गरेको प्रमाण र स्थानीय ठेगानासम्बन्धी कागजात आवश्यक पर्ने भए पनि नेपाली नागरिकका लागि ती कागजात जुटाउन समस्या रहेको उनको भनाइ छ।

भारतका विभिन्न स्थानमा छरिएर रहेका सबै नेपालीको दूतावाससम्म सहज पहुँच नहुने भएकाले पहिचानसम्बन्धी कागजात प्राप्त गर्ने वैकल्पिक व्यवस्था आवश्यक रहेको खनालले बताए।

समाजका उपाध्यक्ष कपिल खनालले पनि आधार कार्डकै कारण दुर्घटनाको क्षतिपूर्ति, पेन्सन तथा अन्य सुविधाबाट नेपाली वञ्चित हुनुपरेको बताए। उनले विद्यमान कागजी प्रक्रिया सरल बनाउन दुवै देशबीच सरकारी तहमा छलफल हुनुपर्नेमा जोड दिए।

नागरिकता र व्यक्तिगत पहिचानसम्बन्धी समस्या
समाजले भारतमा रहेका नेपालीले दैनिक जीवनका सुविधा लिन प्रयोग गर्ने कतिपय कागजातका कारण नागरिकतासम्बन्धी कानुनी समस्या भोग्नुपरेको विषयसमेत उठाएको छ।

पूर्वअध्यक्ष खनालका अनुसार जानकारीको अभावमा केही नेपालीले भारतीय नागरिकता झल्किने कागजात बनाउने गरेका छन्। त्यस्ता कागजातका आधारमा कतिपय स्थानमा दोहोरो नागरिकताको आरोप लगाएर पक्राउ गर्ने तथा मुद्दा चलाउने गरिएको उनको दाबी छ।

यस्ता घटनामा परेका नेपालीलाई न्याय दिलाउन र पहिचानसम्बन्धी अन्योल हटाउन नेपाल र भारत दुवै सरकारले पहल गर्नुपर्ने समाजको माग छ।

भारतमा जन्मिएका वा हुर्किएका नेपालीका सन्तानले नेपाली भाषा राम्रोसँग बोल्न नसकेको अथवा भारतमै अध्ययन गरेको आधारमा नेपाली नागरिकता प्राप्तिमा कठिनाइ भोग्ने गरेको विषय पनि समाजले उठाएको छ।

यस्ता समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयसहित सम्बन्धित सरकारी निकायले ध्यान दिनुपर्ने खनालको भनाइ छ।

शिक्षा, स्वास्थ्य र रोजगारीमा विभेद भएको आरोप
समाजले भारतमा अध्ययन तथा उपचारका लागि जाने नेपालीलाई कतिपय शैक्षिक संस्था र अस्पतालले विदेशी नागरिकसरह व्यवहार गरी अतिरिक्त शुल्क असुल्ने गरेको आरोप लगाएको छ।

नेपाली विद्यार्थीलाई रोजगारीमा विभेद गरिने तथा अध्ययनका क्रममा पात्रता प्रमाणपत्र माग्ने अभ्यासले समेत कठिनाइ उत्पन्न गरेको समाजको भनाइ छ।

समाजले यसअघि सार्वजनिक गरेको मागपत्रमा शैक्षिक तथा स्वास्थ्य सेवामा अतिरिक्त शुल्क लिने, रोजगारीमा भेदभाव गर्ने र प्रशासनिक व्यवहारबाट समस्या सिर्जना हुने अवस्थाको अन्त्यका लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ।

भारतमा बस तथा रेल यात्रा गर्दा र सीमा नाकामा नेपाली नागरिक लुटपाट तथा दुर्व्यवहारमा पर्ने गरेका घटनाप्रति पनि समाजले सरकारको ध्यानाकर्षण गराएको छ।

यस्ता घटना रोक्न र भारतमा आवतजावत गर्ने नेपालीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको समाजको माग छ।

सन् १९५० को सन्धिअनुसारका सुविधा कार्यान्वयन गर्न आग्रह
समाजले नेपाल-भारतबीच सन् १९५० मा सम्पन्न शान्ति तथा मैत्री सन्धिमा उल्लेखित सुविधाको व्यावहारिक कार्यान्वयनमा जोड दिएको छ।

पूर्वअध्यक्ष खनालले सन्धिअनुसार नेपाली नागरिकले भारतमा आवागमन, रोजगारी, पेसा, व्यापार तथा सम्पत्ति खरिदबिक्रीका क्षेत्रमा पाउने सुविधाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए।

सन्धिमा रहेका व्यवस्थाअनुसार नागरिकले व्यवहारमा सुविधा प्राप्त गर्न सक्ने वातावरण बनाउन दुवै सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।

प्रवासी नेपालीलाई मताधिकार र प्रतिनिधित्व दिन माग
समाजले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नसमेत माग गरेको छ।

प्रवासी नेपालीले पठाउने विप्रेषणले नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याइरहे पनि उनीहरू मतदान अधिकारको प्रयोगबाट वञ्चित रहेको समाजको भनाइ छ।

पूर्वअध्यक्ष खनालले प्रवासी नेपालीका नागरिक अधिकार संरक्षण गर्दै राजनीतिक सहभागिताको अवसर उपलब्ध गराउनुपर्ने बताए।

उनले नेपालको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रणाली र मौलिक अधिकार लामो सङ्घर्षबाट प्राप्त उपलब्धि भएकाले तिनको संरक्षण हुनुपर्ने धारणा पनि राखे।

सरकारले बहुमतका आधारमा नागरिक अधिकार सीमित गर्न नहुने उल्लेख गर्दै उनले विद्यार्थी, कर्मचारी, शिक्षक तथा पत्रकारका सङ्गठनमाथिको हस्तक्षेप र पत्रकारमाथि हुने आक्रमणलाई लोकतान्त्रिक अधिकारसँग जोडेर हेर्नुपर्ने बताए।

समाजले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटघाट सम्भव नभए पनि भारतमा रहेका नेपालीका समस्या तथा माग सरकारसम्म पुर्‍याउन सार्वजनिक रूपमा विषय उठाइएको जनाएको छ।

0 Comments