काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।
प्रभावित क्षेत्रमा स्थानीय प्रशासन र सुरक्षा निकायसँग सहकार्य गरेर तत्काल नागरिकको उद्धार र राहत वितरणमा जुट्न उनले निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘बाढीको जोखिम अझै रहेकाले बूढी गण्डकीदेखि त्रिशूली नदी किनारसम्मको तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न म अपिल पनि गर्दछु।’



