काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले उत्तरी अस्ट्रेलियामा आदिवासी रेन्जरले वन्यजन्तुको अनुगमनका क्रममा गर्नुपर्ने तस्बिर प्रशोधनसम्बन्धी कार्यभार ८१ दशमलव चार प्रतिशतले घटाएको एक अध्ययनले देखाएको छ ।
अस्ट्रेलियाको चाल्र्स डार्विन विश्वविद्यालय (सीडीयू)ले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताले उत्तरी क्षेत्रको पश्चिम अर्नहेमस्थित वार्डेकेन आदिवासी संरक्षित क्षेत्रमा समुदायको नेतृत्वमा सञ्चालन भइरहेको वन्यजन्तु अनुगमन कार्यक्रममा एआईको प्रयोगबारे अध्ययन गरेका थिए ।
उक्त कार्यक्रममा सांस्कृतिक र संरक्षणका दृष्टिले महत्त्वपूर्ण वन्यजन्तुको निगरानी गर्न क्यामेरा ‘ट्र्याप’ प्रयोग गरिन्छ । यसले भूमि व्यवस्थापनमा परम्परागत भूमिधनी समुदाय र आदिवासी रेन्जरको सहभागिता सुनिश्चित गर्छ ।
वार्डेकेन भूमि व्यवस्थापन, चाल्र्स डार्विन विश्वविद्यालय र अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय राष्ट्र मण्डल वैज्ञानिक तथा औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआईआरओ)का अनुसन्धानकर्ताले रेन्जरले सङ्कलन गरेको एक हजार ५७२ घण्टाको तथ्याङ्कमा ‘मेगाडिटेक्टर’ नामक एआईमा आधारित वन्यजन्तु पहिचान प्रणाली प्रयोग गरेका थिए ।
अध्ययनअनुसार, उक्त प्रविधिले विस्तृत विश्लेषण गर्नुपर्ने तस्बिरको सङ्ख्या नौ लाख २५ हजार ८८ बाट घटाएर एक लाख ७२ हजार २९० मा सीमित गरेको थियो । यससँगै तस्बिर प्रशोधन गर्न लाग्ने समय पनि छ महिनाबाट घटेर दुई महिनामा झरेको थियो ।
कार्यभार घटेपछि रेन्जरले भूमि व्यवस्थापन र वन्यजन्तुका प्रजाति पहिचानमा बढी समय दिन पाएका छन् । साथै, स्थानीय भाषाको अभिलेखीकरण तथा शैक्षिक सामग्री विकासजस्ता गतिविधिमा पनि उनीहरूलाई थप समय उपलब्ध भएको अनुसन्धानकर्ताले बताएका छन् ।
अध्ययनले एआईको प्रयोगबाट वन्यजन्तु अनुगमनलाई थप प्रभावकारी बनाउनुका साथै आदिवासी समुदायको संरक्षणसम्बन्धी काम र सांस्कृतिक ज्ञानको अभिलेखीकरणमा सहयोग पुग्न सक्ने देखाएको छ ।



