काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री उदय शमशेर राणाले कर्णालीका समस्या काठमाडौँले बुझ्न आवश्यक रहेको बताएका छन् । बुधवार काठमाडौँमा आधा अध्याय पुस्तक विमोचन गर्दै उनले कणार्ली, सुदूरपूर्व र सुदूरपश्चिमका नागरिकको भावना तथा उनीहरूले भोग्दै आएका दुःख–सुख राजधानी काठमाडौँले बुझ्न आवश्यक रहेको बताएका हुन् ।
काठमाडौँमा बस्ने राजनीतिक नेतृत्वले देशका विभिन्न भूगोल र समुदायका समस्या बुझ्न नसके राजनीति गर्न नहुने उनले बताए । दुर्गम क्षेत्रका नागरिकका अनुभव र कथाले आफूलाई राजनीतिक बुझ्न तथा उनीहरूसँग घुलमिल हुन सहयोग गरेको उनको भनाइ छ ।
उनले भने, ‘हामीले कर्णालीको भावना सुदूरपूर्वको भावना, सुदूरपश्चिमको भावना बुझ्नुपर्छ । काठमाडौँवासीले नबुझे हामीले राजनीति गर्न सक्दैनौं। गाउँको कुरा, विकट जिल्लाको कुरा, कर्णालीको कुरा विभिन्न कथाहरू सुन्दै आएको कारण पनि मैले राजनीति गर्न सकेको हो ।’
पुस्तकका लेखक लक्ष्मणबहादुर शाहीले कर्णालीका दुर्गम बस्तीका समस्या, गरिबी, अभाव र नागरिकका दुःख–पीडालाई राज्यको नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यले ‘आधा अध्याय’ पुस्तक लेखेको बताए । केन्द्रिकृत राज्यसत्ताबाट टाढा रहेका गाउँबस्तीका वास्तविक समस्या पहिचान गरी उचित सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । गाउँघरका नागरिकले भोगिरहेका भौगोलिक विकटता, सामाजिक समस्या र अभावलाई पुस्तकमार्फत अभिलेखबद्ध गरी सिंहदरबारसम्म पुर्याउने आफ्नो प्रयास उनले बताए । कर्णालीको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पहिचानलाई काठमाडौँसँग जोड्ने उद्देश्यले राजधानीमा पुस्तक विमोचन गरिएको उनको भनाइ छ ।
उनकाअनुसार जुम्लाको सिञ्जा नेपाली भाषाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक क्षेत्र हो । खस सभ्यता, मस्टो संस्कृति, मार्सी धान, स्याउ तथा ऐतिहासिक मठमन्दिर र सम्पदाले सिञ्जाको विशिष्ट पहिचान स्थापित गरेका छन् । सिञ्जा सभ्यतालाई नेपालको महत्त्वपूर्ण सभ्यतामध्ये एकका रूपमा उल्लेख गर्दै उनले त्यसको इतिहास, परम्परा र संस्कृतिबारे राष्ट्रिय स्तरमा थप चर्चा हुनुपर्ने बताए । विगतमा बाइसे–चौबिसे राज्यका रूपमा शक्तिशाली इतिहास बोकेको जुम्लाको पहिचानलाई राष्ट्रिय राजनीतिको केन्द्रसँग जोड्नुपर्ने उनको भनाइ छ ।



