काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
मन्त्रालयले पहिलो चरणमा ८९ विद्यालय छनोट गरी पूर्वाधार विकासका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरेको हो। प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे तीनतले भवन निर्माण गर्ने योजना अघि बढाइएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार नयाँ भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र सुविधासम्पन्न पुस्तकालयको व्यवस्था गरिनेछ ।
‘पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरी अत्याधुनिक १२ कोठे तीनतले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेका छौँ,’ मन्त्री पोखरेलले भनेका छन्, ‘यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।’
मधेशका ३३ विद्यालय प्राथमिकतामा
पहिलो चरणमा छनोट भएका ८९ विद्यालयमध्ये सबैभन्दा बढी मधेश प्रदेशका ३३ विद्यालय परेका छन् । यो कुल छनोटको ३७ प्रतिशतभन्दा बढी हो । मधेश प्रदेशको साक्षरता दर, शैक्षिक सूचकांक तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्रालयले पूर्वाधार विकासमा उक्त प्रदेशलाई प्राथमिकता दिएको जनाएको छ ।
मधेशपछि लुम्बिनी प्रदेशका २१ र कोशी प्रदेशका १८ विद्यालय छनोट भएका छन् । लुम्बिनीमा रुपन्देहीका आठ र दाङका छ विद्यालय समावेश छन् भने कोशीमा झापा र मोरङका छ–छ विद्यालय परेका छन् ।
त्यस्तै, गण्डकी र सुदूरपश्चिम प्रदेशका छ–छ, कर्णालीका तीन र बागमतीका दुई विद्यालय पहिलो चरणमा छनोट भएका छन्।



