काठमाडौँ । बडादसैँ अर्थात् शारदीय दुर्गा पक्षको नवौँ दिन आज आश्विन शुक्ल नवमीका अवसरमा देशभर शक्तिस्वरूपा नवदुर्गाको पूजा–आराधना गरी महानवमी पर्व भव्य रूपमा मनाइँदै छ ।
यस विशेष दिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न ब्यारेक तथा ऐतिहासिक कोतहरूमा परम्परागत हातहतियार र निशानको विशेष पूजाआजाका साथै हर्षबढाइँ गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वका अवसरमा बिहानैदेखि देशभरका प्रमुख शक्तिपीठ, कोतघर तथा घरघरमा देवीको पूजा–आराधना भइरहेको छ । नवदुर्गाका नौ रूपमध्ये नवरात्रको अन्तिम दिन महालक्ष्मीको विशेष पूजाअर्चना गर्ने शास्त्रीय विधि रहेको छ । यस अवसरमा सुरक्षा निकायहरूले आ–आफ्ना शस्त्रगार तथा कोतहरूमा कलश स्थापना गरी विधिपूर्वक बलि दिएर तोप र बन्दुकको सलामीसहित हर्षबढाइँ गर्ने परम्परालाई निरन्तरता दिएका छन् । दशैँको नवौँ दिन कलकारखाना, प्राविधिक उपकरण, सवारी साधन तथा हातहतियारलाई धोइपखाली सफा पारेर विश्वकर्मा तथा शक्तिस्वरूप मानी पूजाआजा गर्ने चलन छ । दैनिक जीवनमा प्रयोग हुने सवारी साधन, मेशिनरी औजार र कर्मसाधनको सुरक्षा तथा दीर्घायुको कामना गर्दै श्रमिक, व्यवसायी तथा सर्वसाधारणले आ–आफ्ना कार्यस्थलमै विधिपूर्वक पूजाअर्चना गरेका छन् । यसैबिच, ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक एवं पुरातात्त्विक महत्वको तलेजु भवानीको मन्दिर वर्षमा एक दिन अर्थात् आजैका दिन मात्र सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ ।
मल्लकालीन यस मन्दिरमा बिहानैदेखि हजारौँ श्रद्धालु भक्तजनहरू पूजा तथा दर्शनका लागि लामवद्ध भएका छन् । तलेजु भवानीको दर्शन गर्नाले वर्षभरि पारिवारिक सुख, शान्ति र समृद्धि छाउने जनविश्वास छ । अर्कातर्फ, नेवार समुदायमा महानवमीका दिन विशेष रूपमा भीमसेनको पूजा गरी पशुबलि चढाउने र ‘स्याक्वत्याक्व’ पर्वका रूपमा हर्षोल्लासपूर्वक मनाउने मौलिक परम्परा रहेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा रहेका शक्ति पीठहरू–दक्षिणकाली, गुह्येश्वरी, शोभा भगवती, भद्रकाली, पलाञ्चोक भगवती, मनकामना लगायतका मन्दिरहरूमा आज बिहानैदेखि पूजाआजा र दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति रहेको छ ।



