कोलम्बो । श्रीलंकाले बङ्गालको खाडी क्षेत्रमा आतंकवाद, लागुऔषध तस्करी, मानव बेचबिखन र साइबर अपराध नियन्त्रण गर्न क्षेत्रीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सार्वजनिक सुरक्षा तथा संसदीय मामिलामन्त्री आनन्द विजेपालाले अक्टोबर १३ मा भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा समयमै सूचना आदानप्रदान र सदस्य राष्ट्रबीच समन्वय आवश्यक रहेको बताए।
भारतका गृहमन्त्री अमित शाहको अध्यक्षतामा भएको बैठकमा बङ्गलादेश, भुटान, भारत, म्यान्मा, नेपाल, श्रीलंका र थाइल्यान्डका प्रतिनिधि सहभागी थिए । बैठकले क्षेत्रीय सुरक्षा सहकार्य बढाउन दिल्ली घोषणापत्र स्वीकृत गरेको भारतस्थित श्रीलंका उच्चायोगले जनाएको छ ।
घोषणापत्रमा आतङ्कवाद, लागुऔषध तस्करी, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, कानूनी सहायता, सुपुर्दगी तथा संयुक्त कारबाहीमा जोड दिइएको छ । अक्टोबर १२ मा आयोजित वरिष्ठ अधिकारीहरूको बैठकमा पनि लागुऔषध नियन्त्रण, आतङ्कवादी गतिविधिमा वित्तीय सहयोग रोकथाम र विपद् व्यवस्थापनबारे छलफल भएको थियो ।
मन्त्री विजेपालाले सुरक्षा सहयोगले नागरिकको जीवन सुरक्षित बनाउनुका साथै बङ्गालको खाडी क्षेत्रमा स्थिरता, विकास र समृद्धि प्रवर्द्धन गर्ने बताए ।



