काठमाडौँ । अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावप्रति समर्थन जनाएका छन् ।
मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेको छ । स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताउँदै उनले सम्झौता निश्चित नभएको र यसका लागि टेस्लाका सेयरधनीहरूको व्यापक समर्थन आवश्यक पर्ने उल्लेख गरेका छन् ।
यसैबीच, स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले एक अर्ब १० करोड डलर घाटा बेहोरेको थियो ।
स्पेसएक्सको आम्दानी १६१ प्रतिशतले बढेर १४ अर्ब ६० करोड डलर पुगेको छ । एआई सेवा र कम्प्युटिङ क्षमता भाडामा दिने सम्झौताले नाफा वृद्धिमा योगदान पुर्याएको कम्पनीले जनाएको छ । एआई एकाइको आम्दानी नौ गुणा बढेर सात अर्ब ६० करोड डलर पुगेको छ ।
कम्पनीले एआई पूर्वाधार विस्तारमा ठूलो लगानी गरिरहेको छ । मस्कले सन् २०२७ मा थप १० गिगावाट कम्प्युटिङ क्षमता सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताएका छन् ।
त्यस्तै, स्टारलिङ्कको आम्दानी ६९ प्रतिशतले बढेर पाँच अर्ब २० करोड डलर पुगेको छ भने ग्राहक सङ्ख्या एक करोड ३६ लाख पुगेको छ ।
स्पेसएक्सले मङ्गल अभियानका लागि महत्त्वपूर्ण मानिएको स्टारसिप रकेटबाट पहिलो व्यावसायिक उडानसमेत पूरा गरेको छ । उक्त उडानमार्फत नयाँ पुस्ताका २६ वटा स्टारलिङ्क उपग्रह पृथ्वीको कक्षमा पुर्याइएको कम्पनीले जनाएको छ ।



