काठमाडौँ । कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालनमा देखिएका समस्या समाधान तथा उडान सेवालाई प्रभावकारी बनाउने विषयमा संघीय र प्रदेश सरकारका प्रतिनिधिसहित सरोकारवालाबीच छलफल भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ‘गनेस’को सहभागितामा भएको छलफलमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र निजी वायुसेवा सञ्चालकहरू सहभागी थिए।
छलफलमा कर्णालीका पहाडी क्षेत्रमा हवाई उडान सञ्चालन गर्दा देखिएका समस्या पहिचान गर्ने, सेवाको प्रभावकारिता बढाउने तथा समस्या समाधानका सम्भावित उपायहरूबारे विचारविमर्श गरिएको थियो।
सङ्घीय तथा प्रदेश सरकारका सम्बन्धित निकाय, नियामक संस्था र हवाई सेवा प्रदायकबीच भएको छलफल कर्णालीको हवाई सेवामा देखिएका चुनौती र सुधारका सम्भावनामा केन्द्रित रहेको जनाइएको छ।




