काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. एक करोड पाँच लाख सहयोग गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले आज उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।
चेक हस्तान्तरणका अवसरमा सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्रप्रसाद पौडेल, अर्थ मन्त्रालयका सहसचिवहरू लगायतको उपस्थिति थियो ।
केन्द्रले उक्त सहयोग आफ्नै आम्दानीबाट जुटाएको जनाएको छ । बाढीबाट प्रभावित परिवारको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।
केन्द्रले पछिल्लो एक वर्षमा संस्थागत तथा आर्थिक सुधार गर्दै सवारी चालक अनुमति पत्र र हुलाक टिकट छपाइलगायतका काममार्फत आफ्नो क्षमता विस्तार गरेको जनाएको छ ।
केन्द्रका अनुसार लामो समयदेखि बाँकी रहेको सवारी चालक अनुमति पत्रको २७ लाख थान छपाइ छ महिनाभित्र सम्पन्न गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिएको छ ।
यसअघि सवारी चालक अनुमतिपत्र छपाइका लागि विदेशी मुद्रामा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था रहेकामा अहिले स्वदेशमै छपाइ हुन थालेपछि विदेशी मुद्रा बचत हुनुका साथै सुरक्षण मुद्रण क्षेत्रमा नेपालको क्षमता विकास भएको केन्द्रको भनाइ छ ।
केन्द्रका कार्यकारी निर्देशक ढुंगानाका अनुसार आगामी दिनमा राष्ट्रिय परिचयपत्र, अन्त:शुल्क टिकट, नागरिकता प्रमाणपत्रलगायतका उच्च सुरक्षणयुक्त कागजातसमेत स्वदेशमै छपाइ गर्ने तयारी भइरहेको छ । अन्त:शुल्क टिकट छपाइका लागि आन्तरिक राजस्व विभागसँग आवश्यक कार्यढाँचा निर्माणको काम भइरहेको उनले जानकारी दिए।
राज्यका संवेदनशील कागजात स्वदेशमै छपाइ गर्दा तथ्यांक सुरक्षा र राष्ट्रिय सार्वभौमिकता सुदृढ हुनुका साथै विदेशी आपूर्तिकर्तामाथिको निर्भरता घट्ने ढुंगानाको भनाई छ ।
सो अवसरमा अर्थमन्त्री वाग्ले र सञ्चार मन्त्री तिमिल्सिनाले केन्द्रको क्षमता विस्तार तथा आवश्यक पूर्वाधार विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।





