काठमाडौँ । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन् । शरद् ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन् ।
पर्यटन विभागकी शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि एक हजार ६९ पुरुष र ३४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिइन् । आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु. ३१ करोड ८० लाख ५० हजार ७७८ रोयल्टी संकलन गरेको छ ।
आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) का रहेका छन् । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन् । जसमा ३७३ पुरुष र १२७ महिला रहेका छन् । उनीहरूबाट विभागले रु. २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी संकलन गरेको छ ।
धौलागिरि-१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरूबाट विभागले रु. ८४ लाख ७३ हजार ६५० रोयल्टी संकलन गरेको छ । यस्तै, मकालु हिमाल आरोहणका लागि एउटा टोलीका तीन जनाले अनुमति लिएका छन् । उनीहरूबाट विभागले रु. छ लाख ८८ हजार ५० राजस्व संकलन गरेको शाखा अधिकृत रेग्मीले बताइन् ।
यसैगरी, हिम्लुङ हिमालका लागि १२ टोलीका १२१ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले रु. ७४ लाख २७ हजार ७२० रोयल्टी संकलन गरेको छ । यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३८६ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरूबाट विभागले रु. पाँच करोड ७६ लाख ९९ हजार ६५० राजस्व संकलन गरिएको छ ।
शाखा अधिकृत रेग्मीका अनुसार पुथा हिउँचुली, डांगा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गंगापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण-४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको छ ।
आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १४१ जना रहेका छन् । यसबाहेक रुसका १०८, फ्रान्सका १३०, अमेरिकाका ११९, बेलायतका ९६, पोल्याण्डका ४१, नेपालका ३३, स्विट्जरल्याण्डका ४७, स्पेनका ३१, भारतका ४०, इटलीका ४७ र जापानका ३५ जनाले आरोहण अनुमति लिएका शाखा अधिकृत रेग्मीले बताइन् ।
विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट २० लाख ८९ हजार ५८४ अमेरिकी डलर अर्थात् रु. ३१ करोड ८० लाख ५० हजार रोयल्टी संकलन गरेको छ ।




