सिरहा । सिरहाको मिर्चैया नगरपालिका-१३, मलहनियास्थित सीमावर्ती क्षेत्रबाट ३२१ ग्राम प्रतिबन्धित लागू औषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
लागू औषध नियन्त्रण ब्युरोका अनुसार भारतबाट लागू औषध खैरो हेरोइन मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा सप्लाई भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
बिहीबार बिहान सिरहाको मलहनिया क्षेत्रमा भारतको मधुवनीबाट जयनगर नाका हुँदै मोटरसाइकलमा नेपालतर्फ आइरहेका उनीहरूलाई रोक्न खोज्दा भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि नियन्त्रणमा लिइएका उनीहरूको साथबाट ३२१ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ।
पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला, बेला पञ्चिघात वडा नं.८ का ४४ वर्षीय लालबाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास रहेका छन्।
उनीहरूको साथबाट खैरो हेरोइन, भारतीय नम्बर प्लेटको बीआर-३२४ भी ७५७४ नम्बरको मोटरसाइकल तथा दुई थान मोबाइल बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, सिरहामा बुझाइएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।





