काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ । शनिवार काठमाडौँको च:मतीस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक औपचारिक रूपमा शुरु भएको हो ।
समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र पार्टीका आगामी रणनीति तय गर्न सचिवालय बैठक डाकेको हो । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सरकारको कार्यसम्पादन र संगठनभित्रका समसामयिक विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरू बैठकमा सहभागी भएका छन् । पत्रकार र सञ्चारमाध्यममाथिको धरपकडको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
सरकारको उक्त कदमको रास्वपा भित्रैबाट विरोध भइरहेको छ । विज्ञप्ति जारी गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले सरकारले यस कदमको जवाफ दिनुपर्ने बताएका छन् । बैठकमा पार्टीका पछिल्ला गतिविधि, मन्त्रिपरिषद्का निर्णय तथा सरकार सञ्चालनका सन्दर्भमा रास्वपाले खेल्नुपर्ने भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र साह भने उपस्थित हुनुहुन्न ।




