काठमाडौँ । सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने लक्ष्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी आवश्यक काम अघि बढाउने निर्णय गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा सम्बन्धित मन्त्रालयका सचिवहरू, निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा लिन नेपाल आउने विदेशी बिरामीलाई लक्षित गरी चिकित्सा सेवा पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। त्यसका लागि आवश्यक नियमनकारी संरचना निर्माण, अस्पतालको गुणस्तर र बिरामी सुरक्षासम्बन्धी मापदण्ड निर्धारण तथा विदेशी बिरामी र उनीहरूका सहयोगीका लागि मेडिकल भिसाको व्यवस्था गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
चिकित्सा सेवा पर्यटनको विकासबाट विदेशी मुद्रा आर्जन बढाउनुका साथै नेपाली नागरिकलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न र स्वदेशमै विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाललाई चिकित्सा सेवा पर्यटनको भरपर्दो क्षेत्रीय गन्तव्यका रूपमा स्थापित गर्न सरकारले आवश्यक नीतिगत तथा संस्थागत सुधार अघि बढाउने तयारी गरेको छ।




