काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सार्वजनिक गरेको स्नातक तहको पूरक परीक्षा तालिकामा समयसम्बन्धी त्रुटि भेटिएको छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनुपर्नेमा सूचनामा बिहान ७ बजेदेखि राति १० बजेसम्म उल्लेख गरिएको छ।
परीक्षा नियन्त्रण कार्यालयले कात्तिक १३ गते प्रकाशित गरेको चारवर्षे स्नातक तहको चौथो वर्षको पूरक परीक्षा तालिकामा यस्तो त्रुटि देखिएको हो।
कार्यालयले बीए, बीएफए, बीबीएस, बीएड र बीएस्सी चौथो वर्षको पूरक परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ। त्यसमध्ये बीबीएसको परीक्षा तालिकामा ‘बिहान ०७:०० एम बजेदेखि १० :०० पिएम बजेसम्म’ उल्लेख छ।
यसअनुसार परीक्षा अवधि बिहान ७ बजेदेखि राति १० बजेसम्म अर्थात् १५ घण्टा हुन जान्छ। सामान्यतः तीन घण्टाको परीक्षा सञ्चालन हुने सन्दर्भमा बिहान १० बजे जनाउनुपर्ने स्थानमा ‘पिएम’ लेखिएको देखिन्छ।
कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार बीबीएस चौथो वर्षका विभिन्न विषयको परीक्षा मङ्सिर १५ गतेदेखि सुरु हुने गरी निर्धारण गरिएको छ।
विश्वविद्यालयजस्तो शैक्षिक संस्थाको आधिकारिक परीक्षा तालिकामै समयको सामान्य त्रुटि देखिनुले सूचना तयार गर्ने, परीक्षण गर्ने र प्रकाशनअघि रुजु गर्ने प्रक्रियामाथि प्रश्न उठाएको छ।





