काठमाडौँ । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ बनाएर फरार भएपछि कारागारको सुरक्षा व्यवस्था र निगरानी प्रणालीमाथि प्रश्न उठेको छ। घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी निरीक्षकको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार प्रहरी निरीक्षक विनय सिंहको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना प्रतिनिधि सदस्य छन्।
कारागारको नियमित सुरक्षा निगरानीकै बीच कैदीबन्दीले पर्खाल भत्काएर सुरुङ बनाउन कसरी सके भन्ने विषयमा समितिले छानबिन गर्नेछ। घटनाका क्रममा सुरक्षामा खटिएका कर्मचारीको निगरानी तथा जिम्मेवारी निर्वाहको अवस्थासमेत अनुसन्धानको विषय बनेको छ।
प्रहरीका अनुसार कात्तिक १३ गते राति कारागारबाट कैदीबन्दी फरार भएका थिए। घटनाबारे भने कात्तिक १४ गते बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो।
घटनाअघि कारागारमा १७ जना कैदीबन्दी रहेकोमा आठ जना फरार भएका हुन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले फलामे रड प्रयोग गरी पर्खाल भत्काएर बाहिर निस्कने बाटो बनाएको देखिएको प्रहरीले जनाएको छ।
डीएसपी गिरीका अनुसार राति १० बजेसम्म कैदीबन्दी सामान्य अवस्थामै रहेको देखिएको छ। त्यसपछिको समयमा सुरुङ बनाउने काम सुरु भएको प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि, सुरुङ बनाउन लागेको समय, त्यस क्रममा अपनाइएको तरिका र सुरक्षा निगरानीमा भएको सम्भावित कमजोरीबारे विस्तृत विवरण छानबिनपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।
फरार हुने आठ कैदीबन्दीको विवरण
प्रहरीले उपलब्ध गराएको विवरणअनुसार फरार हुनेहरूमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ का २९ वर्षीय कालिप्रसाद रोकाया र सोही नगरपालिका-४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा छन्।
त्यस्तै, बोरेकोट गाउँपालिका-१ का २५ वर्षीय यज्ञ विक, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ का ३८ वर्षीय तिलक भण्डारी र सोही नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर कामी पनि फरार भएका छन्।
फरार हुने अन्यमा सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना, जाजरकोटको नलगाड नगरपालिका-९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ का ३२ वर्षीय निशान भनिने आदेश भण्डारी रहेका छन्।
प्रहरीका अनुसार समाचार तयार पार्दासम्म फरार आठै जना नियन्त्रणमा आएका छैनन्। उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
कारागारजस्तो संवेदनशील र चौबिसै घण्टा सुरक्षा निगरानी रहने स्थानबाट एकै पटक आठ जना कैदीबन्दी फरार हुनुले सुरक्षा व्यवस्थाको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ। विशेष गरी पर्खाल भत्काएर सुरुङ बनाउँदासमेत सुरक्षाकर्मीले समयमै जानकारी नपाएको विषय छानबिनको महत्त्वपूर्ण पक्ष बनेको छ।
गठित समितिको प्रतिवेदनपछि घटनाको कारण, सुरक्षा व्यवस्थामा देखिएका सम्भावित कमजोरी र जिम्मेवारीको विषय थप स्पष्ट हुने अपेक्षा गरिएको छ।




