काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ।
ल्यान्ड गर्ने क्रममा दुई वटा हेलिकोप्टर एक आपसमा ठोक्किँदा भारतको तमिलनाडु राज्यको चेन्नाईका ४७ वर्षीय वसन्तकुमार बालारामाडुको मृत्यु भएको हो।
आज बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा न्युजिल्यान्ड निवासी अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल के.सी. घाइते भएका छन्।
घाइतेमध्ये सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ।
त्यसैगरी, डाइनेस्टी एयरका पाइलट प्रजल के.सी.को लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।




