काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विवेक र विचारभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति हाबी हुँदै गएको भन्दै सरकारको आलोचना गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै उनले राज्य सञ्चालनमा विवेक र सिद्धान्त कमजोर हुँदै गएको टिप्पणी गरेका हुन्।
‘प्रचण्ड’ले जनतालाई त्रसित बनाउने र असहिष्णुता बढाउने प्रवृत्तिले प्रश्रय पाइरहेको दाबी गर्दै त्यसको सामना गर्न विचार र सिद्धान्तमा आधारित राजनीतिक शक्तिहरूबीच एकता आवश्यक रहेको बताए।
‘यतिबेला देशमा विवेक हराएको छ। राज्यमा विचार हराएको छ। आवेग, आग्रह, पूर्वाग्रह, निरङ्कुशता, अराजकता, जनतालाई चिमोट्ने, भुत्त्याउने, सबैलाई आतङ्कित पार्ने प्रवृत्ति हाबी छ,’ उनले भने।
उनले मुलुकको वर्तमान परिस्थितिमा राजनीतिक दलहरूले आपसी मतभेदभन्दा राष्ट्रिय आवश्यकता र जनताको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। देशलाई सही दिशामा अघि बढाउन कम्युनिष्ट शक्तिहरूले फेरि एकपटक साझा जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
‘प्रचण्ड’ले नेकपा (एमाले)सँग भएको तीनबुँदे सहकार्यसम्बन्धी निर्णयको स्मरण गर्दै कम्युनिष्ट शक्तिहरूबीच सहकार्यको सम्भावना विस्तार हुँदै गएको बताए। सहसंयोजक माधवकुमार नेपालले मोहनविक्रम सिंहसँग समेत सहकार्यका विषयमा छलफल गरेको जानकारी उनले दिए।
उनले राजनीतिक एकतासँगै विगतका कामकारबाहीको वस्तुनिष्ठ समीक्षा आवश्यक रहेकोमा पनि जोड दिए।
विभिन्न क्षेत्रका नागरिकबाट आफूहरू आलोचित भइरहेको स्वीकार गर्दै प्रचण्डले राजनीतिक नेतृत्वले आफ्ना कमजोरी स्वीकार गर्न हिचकिचाउन नहुने बताए।
‘पूर्व, पश्चिम, तराई, मधेस, पहाड जताकतै जाँदा हामीलाई आलोचना गर्नेको कमी पनि छैन, विरोध गर्नेको कमी पनि छैन,’ उनले भने, ‘हामीले कहाँ कमीकमजोरी गर्यौँ भन्ने महसुस गरेका छौँ। तर, आफ्ना कमजोरीबारे बोल्न डराउनु हुँदैन।’
उनले जनताको विश्वास पुनः प्राप्त गर्न आत्मसमीक्षा र संगठनात्मक सुधार आवश्यक रहेको संकेत गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीसँगै संगठन सुदृढीकरणमा सक्रिय हुन निर्देशन दिए।
मंगलबारको कार्यक्रममा ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच १० बुँदे एकता सहमति भएको छ। सहमति पत्रमा प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीकी महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन्।
एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिह्न पाँचकुने तारा कायम राख्ने सहमति भएको छ। स्थानीय तहको निर्वाचनपछि एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तथा त्यसअघि संगठनात्मक समायोजन अघि बढाउने सहमतिसमेत भएको छ।




