काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १७ अर्ब १५ करोड रुपैयाँ लागतका ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरिएको बताएका छन्।
मन्त्री लम्सालका अनुसार पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत विभिन्न जिल्लामा सञ्चालन हुने साना तथा ठूला गरी ९२ आयोजनाको ठेक्का आह्वान गरिएको हो।
ती आयोजनामार्फत आगामी ३० महिनाभित्र विभिन्न जिल्लाका १३ लाख ७२ हजार नागरिकलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको उनले जानकारी दिएका छन्।
‘पछिल्लो तीन महिनामा मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागबाट ९२ वटा साना–ठूला खानेपानी आयोजनाको ठेक्का आह्वान गरेका छौँ,’ मन्त्री लम्सालले भने।
उनका अनुसार गत आर्थिक वर्षमा स्रोत सहमति प्राप्त हुन नसक्दा खानेपानी आयोजनाका नयाँ ठेक्का प्रक्रिया अघि बढ्न सकेका थिएनन्। यस वर्ष भने खानेपानी सेवालाई प्राथमिकतामा राखेर आयोजनाहरूको खरिद प्रक्रिया अगाडि बढाइएको हो।
मन्त्री लम्सालले चालु आर्थिक वर्षमा थप खानेपानी आयोजनाको खरिद प्रक्रिया अघि बढाउने तयारीसमेत भइरहेको बताएका छन्। ‘खानेपानी सेवा प्राथमिकता प्राप्त क्षेत्र भएकाले यस वर्ष ४४ अर्ब रुपैयाँसम्मका खानेपानी आयोजना खरिद प्रक्रियामा लैजाने तयारी गरेका छौँ,’ उनले जानकारी दिए।
सरकारले विसं २०८७ सालसम्म सबै नागरिकका घरघरमा सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखेको उल्लेख गर्दै मन्त्री लम्सालले सोही लक्ष्यअनुसार आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएका छन्।
यद्यपि, ठेक्का आह्वान भएका आयोजनाको निर्माण सम्झौता, कार्यान्वयन र निर्धारित अवधिभित्र सम्पन्न हुने विषय आगामी प्रक्रियामा निर्भर रहनेछ। आयोजनाहरू समयमै सम्पन्न भए लक्षित नागरिकको स्वच्छ खानेपानीमा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।





