काठमाडौँ। जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले साबिकको साबिक गाईघाट र देउरी (हाल त्रियुगा वडा नं ५) २७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
जसमध्ये २२ भूमिहीन दलित र ५ भूमिहीन सुकुम्वासी परिवार रहेका छन्।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। समितिका अनुसार लालपुर्जा प्राप्त गर्ने यी परिवारहरू करिब २० वर्षदेखि सोही ठाउँमा बस्दै आएका थिए।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।





