काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनबाट प्राप्त जनसमर्थनपछि पार्टीका नेता-कार्यकर्तामा दम्भ र अहंकार बढेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्।
उनले जनताले दिएको विश्वासलाई अधिकारको दुरुपयोग गर्ने माध्यम नबनाउन र राजनीतिक व्यवहार तत्काल सुधार्न पार्टीपंक्तिलाई सचेत गराएका छन्।
शुक्रबार चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लामिछानेले निर्वाचनमा ठूलो सफलता हासिल गरे पनि त्यसअनुसारको जिम्मेवारी र राजनीतिक चरित्र प्रदर्शन गर्न नसकिएको स्वीकार गरे। पार्टीका नेता–कार्यकर्तामा जनताप्रतिको सम्मान र जबाफदेहिताको भावना कमजोर हुँदै गएको उनको टिप्पणी थियो।
‘जनताले १८२ सिट दिए, हाम्रो भुईँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ,’ लामिछानेले भने, ‘माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ।’ उनले निर्वाचन जितेकै आधारमा आफूलाई अरूभन्दा माथि ठान्ने प्रवृत्ति त्याग्नुपर्ने बताए।
पार्टीको राजनीतिक प्रभाव बढेको भन्दै प्रहरी र प्रशासनमाथि दबाब सिर्जना नगर्न पनि उनले निर्देशन दिए। विगतमा पार्टीका नेता–कार्यकर्ताले प्रशासनिक तथा राजनीतिक रूपमा दुःख पाएको स्मरण गर्दै उनले अहिले त्यही व्यवहार दोहोर्याएर प्रतिशोध लिन खोज्नु गलत हुने स्पष्ट पारे।
यसअघि आफ्ना कार्यकर्तामाथि मुद्दा लगाइएको, व्यवसायीलाई अनुगमनका नाममा दुःख दिइएको र राजनीतिक गतिविधिमा अवरोध पुर्याइएको लामिछानेको दाबी थियो। तर विगतमा भएका भनिएका त्यस्ता घटनाको बदला लिन अहिले राज्य संयन्त्रको दुरुपयोग गर्न नहुनेमा उनले जोड दिए।
प्रहरी–प्रशासनमा पहुँच भएको भन्दै राजनीतिक प्रभाव देखाउने प्रवृत्तिले पार्टीलाई सही दिशामा नलैजाने उनको भनाइ थियो। निर्वाचनको सफलता स्थायी शक्ति वा विशेषाधिकार नभएको उल्लेख गर्दै उनले जनतासँगको सम्बन्ध र व्यवहारलाई प्राथमिकता दिन आग्रह गरे।
लामिछानेले पार्टीको कामकारबाहीमाथि हुने सार्वजनिक आलोचना स्वीकार गर्न पनि नेता–कार्यकर्तालाई आग्रह गरे। राजनीतिक विश्लेषक, सञ्चारमाध्यम तथा समाजले पार्टीको व्यवहारमाथि टिप्पणी गर्दा आक्रोशित हुनुको सट्टा त्यसलाई सुधारको अवसरका रूपमा लिनुपर्ने उनले बताए।
‘समाजले हामीलाई ऐना देखाएको छ। आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,’ उनले भने। पार्टीभित्र देखिएका कमजोरीका लागि अन्य राजनीतिक दल, विश्लेषक वा सञ्चारमाध्यमलाई दोष दिनुभन्दा स्वयं नेतृत्व र कार्यकर्ताले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
रास्वपाले स्थापनाको छोटो अवधिमै ठूलो राजनीतिक सफलता प्राप्त गरे पनि संगठनात्मक विकास र राजनीतिक प्रशिक्षणका कतिपय चरण पूरा गर्न बाँकी रहेको लामिछानेले स्वीकार गरे।
उनले पार्टीको अवस्थालाई विद्यार्थीको शैक्षिक यात्रासँग तुलना गर्दै जनताले रास्वपालाई एकैपटक आठ कक्षामा भर्ना गरिदिएको उदाहरण प्रस्तुत गरे। तर अघिल्ला कक्षामा सिक्नुपर्ने विषय नपढी अर्को कक्षामा पुग्न नसकिने भन्दै उनले राजनीतिक प्रशिक्षण, अनुशासन र संगठनात्मक संस्कार विकास गर्न आवश्यक रहेको बताए।
उनले पार्टीको उद्देश्य एउटा निर्वाचन जितेर अर्को निर्वाचनको तयारी गर्नु मात्रै नभएको उल्लेख गर्दै दीर्घकालीन राजनीतिक जिम्मेवारी निर्वाह गर्न नेता-कार्यकर्ताले आफूलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए।
लामिछानेले जनताबाट प्राप्त अभिमतले पार्टीको जिम्मेवारी बढाएको उल्लेख गर्दै सत्ता र शक्तिको प्रभावभन्दा नागरिकप्रतिको सम्मान, संयम र उत्तरदायी व्यवहारलाई प्राथमिकतामा राख्न आग्रह गरे।





